सेवासुविधा लिन्नँ भन्ने मन्त्रीप्रति विप्लवको कटाक्ष– ‘कुनैबेला अकुत कमाएको हुनसक्छ’
काठमाडौं । अन्तरिम सरकारका केही मन्त्रीहरुले सेवासुविधा नलिने भनी गरेको घोषणाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्री चन्द (विप्लव)ले ‘जनतामा भ्रम छर्न’ खोजेको भन्दै कटाक्ष गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारमा सोमबार मात्रै नियुक्त भएका अर्थमन्त्री मन्त्री रामेश्वर खनाल र भौति पुर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिँचाई र शहरी बिकास मन्त्री कुलमान घिसिङले पदबहालीका क्रममा सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए ।
मन्त्रीहरुले सरकारी सुविधा र तलबभत्ता नलिने घोषणा गर्दा कतिपयले प्रशंसा गरेका छन् । तर विप्लवले भने कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा ‘मन्त्रीहरुले आज (सोमबार) भाषण गरेको सुनेँ– म चाहिँ तलब लिदिनँ भनेर । तलब नलिएर के खान्छ ? माटो खान्छ तेले ?’
विप्लव यत्तिमै रोकिएनन् र थप व्याख्या गर्दै भने, ‘त्यो भनेको कतैबाट यसअघि नै कमाको छ । यो एक प्रकारको घमण्ड हो । यो त जनतामा भ्रम छर्ने कुरा हो ।’
यस्ता अभिव्यक्ति दिने व्यक्तिले कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने विप्लवको भनाई छ । ‘त्यसले के देखाउँछ भने त्यसले कुनै बेला अकुत सम्पत्ति कमाएको छ भन्ने सावित गर्छ’ विप्लबले भने, ‘हेर्नुस् यसमा धेरै कुराहरु छन् । जनतालाई भुलभुलैयामा पार्ने, उचाल्ने, पछार्ने, आफ्नो स्वार्थ सिद्ध गर्ने अनि देशलाई तल पार्दिने ।’
उनले अनावश्यक उचाल्ने पछार्ने काम छोडेर जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्नुपर्नेमा जोड दिए । ‘हाम्रो देशलाई असल बाटोमा हिँडाएर सबै जनताले हाम्रो जीवनमा परिवर्तन आयो, राम्रो भयो भन्ने बनाउनेतिर सोच्नुपर्छ,’ विप्लबले भने, ‘नेताहरु आफ्नो श्रम गर्नेतिर फर्केनन्, आफ्नो पार्टी र कार्यकर्तालाई उत्पादनतिर लगाएनन्,’ विप्लवले भने, ‘सजिलै पैसा खोज्दै हिँड्दाखेरि विदेशीको एजेन्ट भएका छन् ।’ विप्लवले नेताहरु जनतातिर नफर्किएको र कार्यकर्तालाई उत्पादनसँग नजोडेकोमा असन्तुष्टि जनाए ।
विप्लबले अर्कोको टाउकोमा दोष थोपरेर आफूलाई सही देखाउने भन्दा पनि राम्रो गरेर देखाउन वर्तमान सरकारलाई आग्रह गरे । विप्लवले सोमबार बेलुका एक भिडियो सन्देश सार्वजनिक गर्दै सुशीला कार्की नेतृत्वको सरकारको बनोटप्रति विरोध जनाउँदै विद्रोह जेन–जीको भएपनि सरकार जेन–एक्सको भएको टिप्पणी गरे ।