एनसेलले भन्यो- तपाईँहरुसँगै हामी फेरि उठ्नेछौं

काठमाडौं । जेन जी आन्दोलनमा तोडफोड, आगजनीबाट ठूलो क्षति व्यहोरेको एनसेलले फेरि उठ्ने प्रण गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै एनसेलले यस्तो प्रतिवद्दता जनाएको हो ।

तोडफोड तथा आगजनीबाट एनसेलको मुख्य कार्यालयमा गम्भीर क्षति पुर्याएकोमा कम्पनीले गहिरो दुःख व्यक्त गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर असर पुर्याएको छ ।”

तर चुनौतीबीच पनि एनसेलले आफ्ना ग्राहकलाई दूरसञ्चार सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीका अनुसार सञ्चार सेवा जनजीवनसँग प्रत्यक्ष जोडिएको भएकाले यसको अवरोध न्यून बनाउन सक्दो प्रयास भइरहेको छ ।

एनसेलले मोबाइल भ्वाइस, एसएमएस र इन्टरनेट सेवामा निरन्तरता दिन प्राथमिकता दिएको र आफ्नो मूल्य श्रृंखलाभरि आपूर्ति सुनिश्चित गर्न तत्पर रहेको जनाएको छ । यसले कम्पनीको ग्राहकप्रतिको अद्वितीय प्रतिबद्धताको प्रतिविम्ब भएको पनि विज्ञप्तीमा उल्लेख छ ।

२० वर्षदेखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा संलग्न एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिदर वृद्धि र डिजिटल नेपाल निर्माणमा योगदान पुर्‍याउँदै एनसेलले स्मरण गरिएको छ । हाल देखिएका चुनौतीका बाबजुद आफ्नो कर्मचारी, ग्राहक र साझेदारप्रति जिम्मेवारी पूरा गर्ने अटल संकल्पका साथ अघि बढ्ने एनसेलले जनाएको छ ।