सरकारी भवन, निजी आवास, उद्योग, व्यवसायमा लुटपाट, आगजनी गर्नेलाई कारबाही गर्न उद्योग संगठन मोरङको माग
काठमाडौं । उद्योग संगठन मोरङले जेनजी आन्दोलनका सरकारी भवन, निजी आवासहरुमा लक्षित लुटपाट, आगजनी तथा विध्वस मच्चाउनेलाई कारबाही गर्न माग गरेको छ ।
राजनीतिक आन्दोलनका नाममा भएका यस प्रकारको विध्वशंको कडा रुपमा निन्दा गर्दै नवगठित सरकारलाई सत्य तथ्य छानबिन गरी कारबाही गर्न माग गरेको छ ।
आन्दोलनमा निजी क्षेत्रका कयौ उद्योग व्यवसाय तथा निजी आवासहरुमा लक्षित गरि लुटपाट, आगजनी तथा विध्वंस गरिएको जनाएको छ । निजी क्षेत्रका लागि यो क्षण अत्यन्त चुनौतीपूर्ण र वेदनापूर्ण भए पनि परिस्थितिसंग जुध्दै पुनर्निर्माण र पुनरुत्थानमा जुट्नु अपरिहार्य भएको समेत जनाएको छ ।
‘निजी क्षेत्र नेपालको आर्थिक रूपान्तरणको मेरुदण्ड हो । आर्थिक समृद्धिको यात्रामा जेनजी आन्दोलनले देखाएको भ्रष्टाचार मुक्त नयाँ नेपाल निर्माणको मार्गदर्शनलाई आत्मसात गर्दै हाम्रा युवाहरूको अपेक्षा अनुसार समावेशी, न्यायपूर्ण र दिगो आर्थिक प्रणाली निर्माण गर्नु हामी सबैको साझा कर्तव्य हो’ जारी विज्ञप्तिमा भनिएको छ ‘ निजी क्षेत्रको तर्फबाट देश निर्माणको यो महान यात्रामा सक्रिय सहभागिता जनाउने दृढ अठोटका साथ सबै पक्षले आपसी समझदारीका साथ राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्दछौं ।’