लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो : मानव अधिकार आयोग
काठमाडौँ । गत आइतबार र सोमबार (भदौ २३ र २४ गते) भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ ।
बुधबार आयोगले एक प्रेस विज्ञप्ति जारी गर्दै देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यमा आयोग निरन्तरता लागिरहेको बताएको हो । आयोगले कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन आयोगले सबैमा आह्वान समेत गरेको छ ।
आयोगका प्रवक्ता डा.टिकारम पोखरेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,'देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको हो । आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुर्याउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गर्दछ ।'