आज र भोली सेयर बजार बन्द हुने, अब आइतबार मात्रै खुल्ने सम्भावना
नेप्सेले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण थप दुई दिन बजार बन्द गरिएको जनाएको छ ।
काठमाडौं । मुलुकमा बदलिएको राजनीतिक परिवेशमा बुधबार र बिहीबार पनि सेयर बजार बन्द हुने भएको छ । मंगलबार पनि सेयर बजार बन्द भएको थियो । राजनीतिक संङ्लियो भने अब आइतबार मात्रै सेयर बजार खुल्ने छ किनभने शुक्रबार र शनिबार बजार नियमित बन्द रहन्छ ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण थप दुई दिन बजार बन्द गरिएको जनाएको छ ।
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ । ‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान ८ बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कफ्र्यु आदेश जारी गरेको थियो । मंगलबार राती देखी नेपाली सेना सुरक्षा कमाण्ड हातमा लिएको छ । सेनाले पनि एक सूचना जारी गर्दै अत्यावश्यक बाहेक कसैलाई बाहिर ननिस्कन अनुरोध गरेको छ ।
सोमबार सुरु भएको जेनजी प्रदर्शनमा सरकारी दमनका कारण १९ युवाको मृत्यु भएको थियो । त्यसपछि चर्किएको हिंसा अझै रोकिएको छैन ।