प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, कांग्रेस मन्त्रीहरुको धमाधम राजीनामा

काठमाडौं । देशभर जेनजीको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । बैठक ६ बजे डाकिएको छ ।

एक अपिल जारी गर्दै उनले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दु:खी भएको बताएका छन् ।

‘कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो ।

उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छु । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गर्दछु’, प्रधानमन्त्रीले भनेका छन् ।



जेन जेड आन्दोलन थप उग्र रुप लिएसँगै नेपाली कांग्रेसका केही मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, खानेपानीमन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।