नेप्से परिसूचक ३५.९९ अंक घट्यो‚ करोबार रकममा केही सुधार

आज नेप्से परिसूचक ३५.९९ अंक घटेर २६७२.२५ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८६ अंक घटेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने केही बढेको छ । आइतबार ४ अर्ब ४० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ३९ रुपैयाँ १० पैसा बढेर ४३० रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ। अरु स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावरको शेयरमूल्य आज सबैभन्दा बढी ५.२८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । त्यस्तै, आज युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने युनिभर्सल पावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.३१ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बिमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।