सिटि होटलको ८० प्रतिशत हकप्रदमा आजदेखि आवेदन दिन सकिने
कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
सिटि होटलले आज (भदौ २३ गते) देखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । अर्थात कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट र सि आस्बा प्रणालीमार्फत तथा मेरो सेयर अनलाइन प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले ऋण भुक्तानी गर्न प्रयोग गर्नेछ ।