बीमा प्राधिकरणको अध्यक्ष बन्न राष्ट्र बैंकका संचालकदेखी यसअघि सिफारिसमा परेकासम्मको आवेदन
गभर्नर अधिकारीकै कार्यकालमा शिवाकोटी राष्ट्र बैंकका संचालक बनेका थिए । शिवाकोटी राष्ट्र बैंकको संचालक हुँदा नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यकतासम्वन्धि अध्ययन कार्यदलको संयोजक समेत थिए ।
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष बन्न नेपाल राष्ट्र बैंकका संचालकदेखी ४ महिनाअघि नाम सिफारिस भएका गरि १४ जनाले आवेदन दिएका छन् ।
सरकारले गठन गरेको प्राधिकरणको अध्यक्ष छनौट सिफरिस समितिले गत शनिबार ७ दिने सूचना जारी गरेर दरखास्त आब्हन गरेको थियो । आवेदन दिने आज अन्तिम दिन हो । सिफारिस समितिको २०८२ भदौ १३ गतेको निर्णयनुसार भदौ १४ गते एक हप्ताको समय दिएर दरखास्त आब्हान गरिएको थियो ।
प्राधिकरणको अध्यक्ष बन्न राष्ट्र बैंकका संचालक चिन्तामणी शिवाकोटीले पनि आवेदन दिएका छन् । राष्ट्र बैंकको डेपुटी गभर्नर रहँदा शिवाकोटीलाई ५ वर्षअघि गभर्नरका लागि सिफारिस गरिएको थियो । तर, त्यतिबेला लगानी बोर्ड नेपालमा प्रमुख कार्यकारी अधिकृत रहेका महाप्रसाद अघिकारी (पूर्व डेपुटी गभर्नरसमेत) लाई गभर्नर बनाइएको थियो । गभर्नर अधिकारीकै कार्यकालमा शिवाकोटी राष्ट्र बैंकका संचालक बनेका थिए । शिवाकोटी राष्ट्र बैंकको संचालक हुँदा नेपालमा अर्को स्टक एक्सचेन्ज आवश्यकतासम्वन्धि अध्ययन कार्यदलको संयोजक समेत थिए । सो कार्यदलले नयाँ स्टक एक्सचेन्व दिनुअघि नेपाल स्टक एक्सचेन्व (नेप्से) को आधुनिकीकरण गर्नुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, अर्का आवेदन दिएका दामोदर बसौला ५ महिना अघि प्राधिकरणकै अध्यक्षका लागि ३ जनामा सिफारिस भएका थिए । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक भएका बसौलालाई पन्छाएर सरकारले पत्रकार शरद ओझालाई अध्यक्षको जिम्मेवारी सुम्पेको थियो । तिनै ओझाले आचरण अनुकुल काम नभएको भन्दै केही दिन अघि सरकारले हटाएर नयाँ अध्यक्ष छनौट प्रक्रिया अघि बढाएको हो ।
त्यस्तै, आवेदन दिनेमा राष्ट्र बैंककै पूर्र्वकार्यकारी निर्देशक देव कुमार ढकाल छन् । ढकाललाई पनि सरकारले केही दिन अघि मात्रै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनाएको थियो । अर्का आवेदन डा. राजेन्द्र पण्डित पनि राष्ट्र बैंककै पूर्र्वकार्यकारी निर्देशक हुन् ।
प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका विक्रान्त पाण्डे र रमेश कुमार भट्टराईले यसअघि बिमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए । अन्य आवेदकहरुमा प्रा.डा. दिपक बहादुर भण्डारी, घनश्याम बुढाथोकी, पारस काफ्ले, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, ज्ञानेन्द्र अधिकारी, यज्ञ प्रसाद न्यौपाने र महेश्वर न्यौपाने छन् ।