एमालेको विधान महाधिवेशन आजबाट सुरु, तीन दिनसम्म चल्ने
महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजे विधान महाधिवेशन उदघाटन गर्नेछन् । विधान महाधिवेशन २२ गतेसम्म चल्ने छ ।
महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ । प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ ।
उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत प्रस्तुत कार्यसूची छ । महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।