चल्न छाड्यो फेसबुक र मेसेन्जर, आज साँझसम्म तोकिएका सबै प्लेटफर्म नचल्ने

फेसबुक सञ्चालक संस्था मेटा बिहीबार साँझ सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा दर्ता प्रक्रियाका विषयमा बुझ्न सम्पर्कमा आएको बताइएको छ ।

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्म फेसबुक, मेसेन्जर र इन्स्टाग्राम लगायतका एपहरु बन्द हुन थालेको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, नेपाल टेलिकम र एनसेलको इन्टरनेट र डेटामा बिहीबार रातिबाट बन्द गरेको हो ।

अहिले वर्ल्डलिंक, नेपाल टेलिकम र एनसेलको आईपी एड्रेसबाट फेसबुक, मेसेन्जर चल्न छाडेको छ  । सरकारले २६ वटा एपहरुमाथि संचालन प्रतिबन्ध लगाएसँगै ती एपहरु नेपालमा निष्क्रिय हुँदै गएको छ । सरकारले दर्ता प्रक्रियामा नआएको भन्दै फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युटयुब, ह्वाट्सएप, एक्स, लिंकडिन, स्न्यापच्याट, रेडिट, डिसकार्ड, पिंइन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, ह्वीच्याट, क्वरा, टम्बर्ल, क्ल्बहाउस, मस्तोडन, रम्बल, मिह्वी, भीके, लाइन, आइएमओ, जालो, सोल र हाम्रो पात्रो   संचालनमा रोक लगाएको छ।

सरकारले बिहीबार दिउँसो नेपालमा दर्ता नभएका विभिन्न २६ सामाजिक सञ्जालका एपहरु दर्ता प्रक्रियामा नआएसम्म नेपालमा बन्द गर्ने निर्णय गरेर नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको थियो । लगत्तै प्राधिकरण इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएसँगै नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक लगायतले सूचना निकाल्दै बन्द गर्न भनिएका सामाजिक संजाल नचल्ने बताएका थिए ।

सरकारले रोक लगाएका सबै एपहरु संचालनमा प्रतिबन्ध लगाउन केही समय लाग्ने सेवा प्रदायकहरुले बताएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले शुक्रबारसम्म सरकारको निर्णय पूर्णरुपमा कार्यान्वयनमा आउने भनिसकेको छ। बिहीबार प्राविधिक कारणले तत्कालै एपहरु संचालन रोकिएको थिएन ।

उता, फेसबुक सञ्चालक संस्था मेटा बिहीबार साँझ सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा दर्ता प्रक्रियाका विषयमा बुझ्न सम्पर्कमा आएको बताइएको छ ।