शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
शिव श्री हाइड्रोपावर कम्पनीले आज (भदौ १९ गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो । यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंक इन्टरनेशनलका कुमारीपाटी, ठीमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगंज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन् ।