रास्वपा र राप्रपाको संसद् बहिष्कारमा हनिमुन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधिसभाको बैठक बहिष्कारले एक सय दिन पार गरेको छ ।
भिजिट भिसाका नाममा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन हुने गरेको विषयमा अध्ययन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने माग राखेर दुवै दलले १३ जेठ २०८२ देखि प्रतिनिधिसभाको बैठक कहिष्कार गर्दै आएका छन् । १५ जेठमा बजेट प्रस्तुत गर्न दिए तापनि बाँकी बैठकका गतिविधिमा भाग लिएका छैनन् ।
दुवै दलका सांसदहरू प्रतिनिधिसभाको बैठक सुरु भएपछि उठेर विरोध गर्छन् । सभामुखले समय दिएपछि आफ्ना कुरा राख्छन् । भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने माग यथावत रहेको र यो माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताउँछन् र बैठक कक्षबाट बाहिरिन्छन् । यस्तो कार्य गर्दै आएको १०० औं दिन आज पनि प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै दुवै दलका सांसदहरूले उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद हरि ढकालले भिजिट भिसा प्रकरणका विषयमा आफूहरूको माग यथावत् रहेको बताए ।
आफूहरू दुई मिनेट बोलेर निस्केपछि अरू दलले विरोध गर्ने गरेको तर, सरकारले माग पूरा गर्नेतर्फ ध्यान नदिएको उनले बताए । राणा शासनमा समेत विरोध गर्नेलाई निस्तेज पारिएको स्मरण गर्दै उनले लोकतन्त्रमा समेत दलीयकरण हावी भएको र दलीय करणले विरोधलाई नसुनेको टिप्पणी गरे ।
राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले आफूहरू निरन्तर भिजिट भिसा प्रकरणको छानबिनको मागमा रहेको बताए । आफूहरूको माग सम्बोधन नहुँदा देख्नेहरूलाई समेत लाज हुन थालिसकेको उनले बताए । त्यसपछि दुवै दलका सांसदहरू बैठक कक्षबाट बाहिरिए ।