चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै, चीनमा रहँदा के के भयो ?
चीनमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपनि दुबै प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएन । ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्किन लागेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए । यस्तै चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।
उनले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिएका थिए । शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
चीनमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट भएपनि दुबै प्रधानमन्त्रीबीच औपचारिक वार्ता भएन । ओली भदौ अन्तिम साता भारत भ्रमणमा जाने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि नेपालको लिपुलेकको बाटो भएर ब्यापार गर्न भारत र चीनले सहमति गरेसँगै नेपालले असन्तुष्टि जनाएको थियो । चीनमा ओलीले राष्ट्रपति सीसँग यस बारेमा कुरा उठाएको बताइएको छ ।
आज नेपाल फर्कनुअघि प्रधानमन्त्री ओलीले चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम छ ।