एसवाई प्यानल नेपालले ५२ करोडको आइपीओ ल्याउने, धितोपत्र बोर्डले दियो स्वीकृती
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न एसवाई प्यानल नेपाललाई अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता सय रुपैयाँका दरले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँको ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । यो कुल कम्पनीको जारी पुँजीको ४० प्रतिशत हो । कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल छ ।
२०७४ असार २० गते स्थापना भएको एसवाई प्यानल नेपाल कोरियाली प्रविधि भएको कोरियाली गुणस्तर चिन्ह प्राप्त एसवाइ कम्पनी कोरियाको लगानी भएको कम्पनी हो । कम्पनीले चितवनको पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआर थ्रि फायर रेटिङ्ग भएको इपिएस प्यानल, युपिभिसिको झ्याल तथा ढोका, स्टिल ढोका, एबिसि ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।
कम्पनीको हाल नेपाल अधिराज्य भरी ७५ वटा डिलरहरु संचालनमा रहेका छन भने यस कम्पनीको प्यानल उत्पादन क्षमता ५००० वर्ग मिटर प्रतिदिन रहेको छ ।