कृष यादवलाई ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि
काठमाडौँ । धनुषाका १७ वर्षीय सामाजिक अभियन्ता कृष यादवलाई ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ को उपाधि प्रदान गरिएको छ ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनलाई यो सम्मान दिइएको हो । शैक्षिक क्षेत्रभन्दा बाहिर उत्कृष्ट काम गर्ने किशोर-किशोरीहरूलाई सम्मान गर्न ग्लोकल प्रालिले यो कार्यक्रम आयोजना गर्दै आएको छ ।
कृषलाई अन्तिम ६ जना प्रतिस्पर्धीमध्येबाट छनोट गरिएको थियो । अरू प्रतिस्पर्धीहरूमा स्याङ्जाकी मानुषी न्यौपाने, कपिलवस्तुका निश्चल ढुङ्गाना, जुम्लाका अक्सफोर्ड आचार्य, सर्लाहीकी रेनुका सिंह र रुपन्देहीका सफल पौडेल थिए ।
कृष यादव एक युवा सामाजिक कार्यकर्ता र सामग्री निर्माता हुन्। उनले विभिन्न विषयहरूमा वृत्तचित्र बनाएका छन् र ‘टीएनसी डिबेट्स’ नामक युट्युब कार्यक्रम पनि चलाउँछन् । उनी ‘द नेपाली कमेन्ट’ युट्युब च्यानलका एसोसिएट क्रिएटिभ हेड पनि हुन् ।
उनले ‘प्रोजेक्ट विवेक’ मार्फत शिक्षा प्रणालीको सामाजिक प्रभावबारे ४८० भन्दा बढी विद्यार्थीहरूमा सर्वेक्षण गरेका छन्। यस्तै, उनी ‘प्राेजेक्ट स्टिच’ नामक एक सांस्कृतिक ब्रान्डका सह-संस्थापक पनि हुन् ।
विजेताको छनोट निर्णायक टोलीले गरेको थियो, जसमा कोका-कोला, डब्लुडब्लुएफ, गोलछा ग्रुप, भाेइथ र युरोपेली संघका प्रतिनिधिहरू संलग्न थिए । उनीहरूले प्रतिस्पर्धीहरूको उपलब्धि, रचनात्मकता, र कामको दिगोपनाको आधारमा मूल्यांकन गरेका थिए।
यो कार्यक्रम गोल्छा ग्रुपको मुख्य प्रायोजन र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा सम्पन्न भएको हो ।