दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ।
बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्नेछ । च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्नेछ ।
पौडेलका अनुसार यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्न मात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ किलो र २५ देखि ३०, ३० देखि ३५ र ३५ देखि ४० किलोसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ ।
अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने छ ।
बुकिङ गरिएका खसी, बोका र च्याङ्ग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिनेछ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्नेछन् ।
बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएसमार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने छ।
उपभोक्ताले सोही कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सक्नेछन्।
कम्पनीले यो वर्ष २ हजार खसीबोका र च्याङ्ग्रा बिक्री गर्नेछ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्याङ्ग्रा खरिद गर्दा प्रतिकिलो १० रुपैयाँ छुट दिइने जनाइएको छ ।