उत्कृष्ट सेवाकाे नतिजा, २५औं वर्षमा एलआइसी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपाल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बिमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट बिमा सेवा प्रदान गर्दै आइरहेको नेपालको एक अग्रणी बिमा कम्पनी हो ।
नेपालको कुनाकाप्चा र बहुसंख्यक नागरिकबीच बिमाबारे सचेतना बढाई बिमा सेवाको दायरा वृध्दि गर्न एलआइसी नेपालले अहम भूमिका खेलेको छ । २४औं वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी तथा यस कम्पनीका संचालक कोमल अग्रवालले कम्पनीमा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर एवं निम्तालु अतिथिहरुलाई दोसल्ला ओडाई तथा टीका एवं माला पहिर्याई सम्मान गरे ।
कार्यक्रममा प्रथम बिमा शुल्क संकलनको आधारमा प्रथम हुनुहुने एजेन्ट पूर्णबहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजरको आधारमा प्रथम हुनुहुने रीता खतिवडालाई माला तथा दोसल्ला ओडाई सम्मान गरिएको छ ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणयकुमारले वर्तमान विषम परिस्थितिको बावजुद पनि यस बिमा कम्पनीले बिमाको माध्यमबाट मानिसको जीवनमा आइपर्ने जोखिमलाई न्यूनीकरण गरी आम नागरिकको विश्वास जित्न सफल भएको र यस वर्ष नवीकरण शुल्कमा ऐतिहासिक रेकर्ड कायम भएको र नेपालमा जीवन बिमा कोषको आधारमा द्वितीय स्थान हासिल गरेकोमा हर्ष व्यक्त गरेका छन् ।
त्यस्तै नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले एलआइसी नेपालको बिमा क्षेत्रको विश्वविद्यालय भएको र यहाँबाट सिङ्गै बिमा क्षेत्रलगायत धेरै जनशक्तिले बिमा बारे सिक्ने अवसर पाएको भनी गर्व गरेकाे बताए ।
