चिनियाँ राष्ट्रपति सीसँगको भेटमा ओलीले उठाए लिपुलेकको मुद्दा, ‘एससीओ’को सदस्य बन्न राखे प्रस्ताव

विज्ञापन
ncell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारतको सहमतिका विषयमा आपत्ति जनाएका छन् ।

परराष्ट्र सचिव अमृत राईका अनुसार, शनिबार दिउँसो भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले उक्त भू–भागबारे भएको सहमतिको बारेमा प्रधानमन्त्री ओलीले स्पष्ट रुपमा आपत्ति जनाएका छन् ।

‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति रहेको कुरा राखेको छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले भने, ‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका भूभागहरू सार्वभौम मुलुक नेपालका भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।’

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को सदस्य बनाउनका लागि सहयोग गर्न पनि प्रस्ताव गरेका छन् । शाङ्घाई सहयोग संगठनकै शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा शनिबार उनको बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको थियो ।

चीन नेपालसँग संयुक्त राष्ट्रसंघ र शाङ्घाई सहयोग संगठन लगायतका बहुपक्षीय मञ्चमा सहकार्य गर्न तयार छ,’ राष्ट्रपति सीको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा छ ।

प्रधानमन्त्री ओली आजै चीनको औपचारिक भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले आजै चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका थिए ।

एससिओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चीन गएका हुन् ।

प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुने भ्रमणको कार्यतालिकामा उल्लेख छ । त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् ।