बिमा प्राधिकरण अध्यक्षका लागि गोप्य खामबन्दी आवेदन माग, इच्छुकले सात दिनभित्र दिनुपर्नेछ निवेदन
अध्यक्ष हुन बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने छ ।
काठमाडौं । नेपाल बिमा प्राधिकरण सञ्चालक समिति अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले विज्ञापन खुलाएको छ ।
प्राधिकरणको अध्यक्ष खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले सात दिनभित्र निवेदन दिन भनिएको छ । सूचनाअनुसार इच्छुकले आफ्नो सम्पूर्ण विवरणसहित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य खामबन्दी आवेदन दिनुपर्ने छ ।
आज प्रकाशित विज्ञापनअनुसार अध्यक्ष हुन बिमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने छ ।
त्यस्तै, भ्रष्टाचार नगरेको, कालो सूचीमा नपरेको र अपराधकर्म नगरेकोलगायतका सर्त राखिएका छन् । यसअघि भदौ १२ गते सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल तोकिएको सिफारिस समिति गठन गरेको थियो ।
त्यसअघि भदौ २ गतेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको थियो । ओझा फागुन १२ गते पुर्वसचिव रामशरण पुडासैनीलाई पछि पार्दै प्राधिकरणको अध्यक्ष भएका थिए ।
यस्तो छ आवेदनको सूचना
