उपप्रधानमन्त्री सिंह कर्मचारीहरुको कार्यशैलीप्रति रुष्ट
उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका छन् ।
सोमवार मन्त्रालयमा आयोजित शहरी विकासमन्त्री सिंह र सचिव गोपालप्रसाद सिग्देलबीचको कार्यसम्पादन सम्झौता कार्यक्रममा उनले कर्मचारीहरुले काम गर्नमा ढिलासुस्ती गर्ने गरेको बताए । संस्थागत स्वामित्व लिएर कर्मचारीहरुले काम नगरिदिँदा धेरैजसो काममा ढिलासुस्ती हुने गरेको बताए । ऐन, नियम, कानून, नियमावली अनुसार गर्नुपर्ने निर्णय गर्न पनि कर्मचारीहरुले समयमा नै नगरिदिने गरेको उनको भनाई छ । कर्मचारीहरुकै कारण कतिपय कामहरु ३ वर्षमा सक्नुपर्नेमा ६ वर्ष लाग्ने, २ वर्षमा हुने काम ४ वर्षमा समेत नहुने गरेको उनले बताए । कानूनअनुसार गर्नुपर्नेमा काममा ढिलासुस्ती गर्ने, आलटाल गर्ने काम नर्गन कर्मचारहरुलाई निर्देशन समेत दिए।
उनले जनतालाई परिणाम दिनेगरी काम गर्ने निर्देशन दिए । गएको एक वर्षमा राम्रो काम नभएको भन्दै उनले चालु आर्थिक वर्षमा जनतालाई महसुस हुनेगरी काम गर्न आग्रह गरे ।
कार्यक्रमम मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका शहरी विकास तथा भवन निर्माण विभाग, स्थानीय पूर्वाधार विकास विभाग, वाग्मतीसँग सम्बन्धित काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सम्बन्धित कार्यलयहरुको सम्पूर्ण कार्य लक्ष्यलाई समष्टिगत गरेर कार्य सम्पादन सम्झौता गरिएको जानकारी दिए । सम्झौताअनुसार हरेक महिना भएको उपलब्धिलाई मन्त्री समक्ष रिपोर्टिङ गर्नुपर्ने उनको भनाई छ । प्रत्येक महिनाको मासिक विवरणमा प्रगतिमा हासिल भएको कुराहरुको लेखाजोखा हुने उनले बताए । हासिल गर्न नसकेको विषयलाई भने स्पष्ट कारण र प्रमाणसहित अर्को महिना गर्नेगरी कार्ययोजना पेश गर्नुपर्ने उनले जानकारी दिए ।