विद्युत् बिक्रीबाट सानिमा मिडिल तमोर हाइड्रोले करिब २ अर्ब रुपैयाँ कमायो
सानिमा मिडिल तमोर हाइड्रोले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा करिब २ अर्ब विद्युत बिक्री आम्दानी गरेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ ।
३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ ।