हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुनलामा १६१.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशत बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ७७.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १६६.७८ गुणा बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १७ रुपैयाँ ३६ पैसा बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ३९.८७ गुणा रहेको छ।

३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ रहेको छ।