फेरि ४२ अंक आर्लियो नेप्से, कारोबार झनै खुम्चिएर ९ अर्व ३३ करोडमा झर्यो

मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) फेरि उच्च अंकले घटेको छ । लगातार ३ दिन घटेपछि सोमबार १६.४६ अंकले बढेको नेप्से मंगलबार फेरी ४१.७८ अंकले घटेर २८३३.५७ अंकमा घटेको छ ।

सोमबार २८७५.३६ अंकमा रोकिएको नेप्से मंगलबार कारोबारको सुरुवातमै २९०६.२४ अंकसम्म चढेको थियो । तर, ११ बजेर १२ मिनेट गएपछि घट्न थालेको सूचक अन्तिम समयसम्मै घटेर कारोबार भएको छ ।

पछिल्ला दिनहरुमा कारोबार रकम पनि निरन्तर घटिरहेको छ । मंगलबार ९ अर्व ३३ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ । यसअघि सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएकोमा आइतबार १३ अर्ब ७ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।

मंगलबार उच्च दरले नेप्सेमा गिरावट आएपनि ४६ कम्पनीको मूल्य बढ्दा समाज र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, २०४ कम्पनीको मूल्य घटेकोमा थ्रि स्टार हाइड्रोपारमा नकारात्मक सर्किट लागेको छ । यसदिन हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा बढी ३९ करोड २८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।