आशा लघुवित्तको नाफा बढ्यो, ईपीएस कति ?

आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा लघुवित्तले २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४८.२८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६ करोड ८९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६७.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.७६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ५०.०५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५५.३६ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड ३६ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १९ रुपैयाँ १८ पैसा बढेर २८ रुपैयाँ ५५ पैसा पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ३१.३८ गुणा रहेको छ।

७३ करोड ३० रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५३ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ अर्ब ६६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।