सदनमा सरकारबारे गोकुल बास्कोटाको आक्रोश, दुईतिहाइ भनेर मात्रै हुँदैन, काम हुनुपर्यो
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सिन्धुपाल्चोक र काभ्रे जोड्ने चेहेरेको पुल निर्माण कार्य अलपत्र छाडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले दुईतिहाइ सरकार छ भन्दैमा कागजको रिपोर्ट देखाएर नहुने बताए ।
उनले भने, ‘मन्त्रीहरूले के काम गर्नुहुन्छ ? उहाँहरूको संयन्त्रले के काम गर्छ ? चार वर्षअघि ठेक्का लाग्यो चेहेरेको पुल, काभ्रे र सिन्धुपाल्चोकको कति भागहरू जोड्ने १४ करोडमा । दुई वटा पिलर हालेको छ, एउटा फक्याल्टो हालेर छाडेको छ, बाँकी अरू बनाएको छैन, १० चोटी भनिसकियो काम खुल्दैन ? दुई तिहाइ भनेर मात्रै भएन, कागजको रिपोर्ट मात्रै देखाएर भएन, काम हुनुपर्यो ।’
कामको नक्कली रिपोर्ट बनाउने कामबाट मुक्त हुन मन्त्रीहरूलाई आग्रह गरे ।