एक वर्षमा साढे ३५ अर्बको २१ लाख स्मार्टफोन आयात, पाँच वर्ष यताकै उच्च राजस्व प्राप्त

भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१-८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।


काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०८१-८२ मा नेपालमा साढे ३५ अर्बभन्दा बढीको २१ लाख ८४ हजारभन्दा बढी स्मार्टफोन आयात भएको छ ।

भन्सार विभागले हालै जारी गरेको आर्थिक वर्ष २०८१-८२ को समग्र वैदेशिक व्यापारको तथ्यांक अनुसार ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ ।

भर्खरै सकिएको गत आर्थिक वर्षमा उक्त रकम बराबरको २१ लाख ८४ हजार ६९४ थान स्मार्टफोन आयात भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबरको १८ लाख ३९ हजार ३५ थान स्मार्टफोन आयात भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ६ अर्ब ८८ करोड ११ लाख ७ हजार बराबरको ३ लाख ४५ हजार ६५९ थान बढी स्मार्टफोन आयात भएको देखिन्छ ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ । गत आर्थिक वर्षमा पनि चीनबाट २४ अर्ब ९१ करोड ४३ लाख ८७ हजार रुपैयाँ बराबरको १७ लाख ५१ हजार ८२३ थान स्मार्टफोन आयात भएको छ ।

भारतबाट १० अर्ब ३ करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको ४ लाख २४ हजार ८४४ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।

आर्थिक वर्ष २०७१-७२ मा ४८ लाख २० हजार मोबाइल आयात गरिँदा यसको मूल्य १८ अर्ब २० करोड रुपैयाँ थियो । सोही वर्ष सरकारले २ अर्ब ३६ करोड रुपैयाँ राजस्व संकलन गर्‍यो । त्यसपछि क्रमशः मोबाइलको आयात संख्या, मूल्य र राजस्वमा उल्लेखनीय वृद्धि हुँदै गएको पाइन्छ ।

२०७४-७५ मा सबैभन्दा धेरै ८२ लाख २७ हजार मोबाइल सेटहरू आयात गरिए, जसको मूल्य २६ अर्ब २७ करोड रुपैयाँ थियो । सो वर्ष ३ अर्ब ५२ करोड रुपैयाँ राजस्व सरकारको खातामा पुगेको थियो । त्यसपछि २०७५-७६ मा झनै बढी ८३ लाख ६५ हजार मोबाइल आयात गरिए तापनि मूल्य भने घटेर १८ अर्ब १७ करोड रुपैयाँमा सीमित रह्यो ।

२०७६-७७ र २०७७-७८ मा मोबाइलको मूल्य क्रमशः ३६ अर्ब ५० करोड र ३८ अर्ब ६ करोड रुपैयाँ पुगेको देखिन्छ । विशेषगरी २०७७-७८ मा मूल्यको हिसाबले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात भएको हो । त्यही वर्ष सरकारलाई ६ अर्ब १ करोड रुपैयाँ राजस्व प्राप्त भयो ।

२०७८-७९ यता मोबाइल आयातको संख्या भने तीव्ररूपमा घटेको छ । सो वर्ष १५ लाख ६६ हजार मोबाइल आयात गरिए, तर मूल्य भने २८ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो। त्यसवर्ष राजस्व ४ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

२०७९-८० मा आयात संख्या १८ लाख ३५ हजार भए पनि मूल्य २८ अर्ब ६६ करोड रुपैयाँ थियो। राजस्व पनि वृद्धि भई ५ अर्ब ३३ करोड रुपैयाँ पुगेको देखिन्छ ।

पछिल्लो आर्थिक वर्ष २०८०-८१ मा २१ लाख ५८ हजार मोबाइल आयात हुँदा त्यसको मूल्य ३५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । सरकारलाई सोही वर्ष ६ अर्ब ६२ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा सबैभन्दा बढी हो ।