नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्ब ४० करोडको बजेट, यस्ता छन् कार्यक्रम

कुल विनियोजनमध्ये सबभन्दा बढी पुँजीगत शीर्षकमा १२ अर्ब ३९ करोड ७० लाख रूपैयाँ छुट्याइएको छ, यो कुल बजेटको ३९ प्रतिशत हो ।

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०८२-८३ का लागि करिब ३१ अर्ब ४० करोड ७६ लाख रूपैयाँको बजेट र कार्यक्रम स्वीकृत गरेको छ ।

प्राधिकरणले बुधबार स्वीकृत गर्दै सार्वजनिक गरेको बजेट अनुसार हवाई पूर्वाधार विस्तारमा केन्द्रित गर्दै दीर्घकालीन रणनीतिक सुधारका काम अघि बढाउने उल्लेख गरिएको छ ।

कुल विनियोजनमध्ये सबभन्दा बढी पुँजीगत शीर्षकमा १२ अर्ब ३९ करोड ७० लाख रूपैयाँ छुट्याइएको छ, यो कुल बजेटको ३९ प्रतिशत हो ।

सञ्चालन खर्चका लागि ६ अर्ब १५ करोड ६७ लाख रूपैयाँ ९२० प्रतिशत० र वित्तीय व्यवस्थापनका लागि १२ अर्ब ८५ करोड ११ लाख रूपैयाँ ९४१ प्रतिशत० विनियोजन गरिएको छ ।

प्राधिकरणले आन्तरिक आम्दानीबाट करिब १६ अर्ब रूपैयाँ संकलन गर्ने प्रक्षेपण गरेको छ । यो गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । बाँकी बजेटको व्यवस्थापन ऋण, अनुदान, मूल्य अभिवृद्धि कर, पेश्की मौज्दात र बैंक मौज्दातबाट गरिने बताइएको छ ।

बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण तयारीलाई पनि प्राथमिकता दिइएको छ । त्यसका लागि परिधी सडक निर्माण, वातावरणीय मूल्यांकन, पुनर्वास, साइट क्लियरेन्स, रूख कटान लगायतका कामका लागि करिब २४ करोड रूपैयाँ विनियोजन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि ६ अर्बभन्दा बढी रकम छुट्याइएको छ। यस अन्तर्गत रनवे विस्तार, ह्याङ्गर विकास, र एप्रोन विस्तारजस्ता कार्यहरू राखिएको छ ।

चालू तथा निरन्तर योजनाहरूका लागि ११ अर्ब ५९ करोड ४१ लाख रूपैयाँ र अघिल्लो वर्षको बाँकी दायित्व तिर्न ६७ करोड ३५ लाख रूपैयाँको व्यवस्था गरिएको छ ।

एसियाली विकास बैंक ९एडिबी०को सहयोगमा सञ्चालित हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत ४ अर्ब १५ करोड रूपैयाँ विनियोजन गरिएको छ ।