ठमेलमात्र होइन, समग्र काठमाडौंलाई २४ घण्टा खुलाउने तयारी

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन अघि बढाएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले बिहीबार आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौंलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

उनले ठमेललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार लागिरहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रणका लागि घरधनी र व्यवसायीको सहयोग आवश्यक रहेको बताए । ठमेलका समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयमा मासिक बैठक गर्ने प्रस्तावसमेत उनले राखे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालय, अव्यवस्थित पार्किङ, फोहोर, ट्राफिक जाम र मगन्तेलगायत समस्या समाधानका लागि सम्बन्धित निकायसँग सहकार्य भइरहेको बताए ।

त्यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्थानीय र व्यवसायी ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन तयार भए ट्राफिक प्रहरीले सहयोग गर्ने बताए । जथाभावी पार्किङ गर्नेलाई कारबाही गरिने उनले स्पष्ट पारे ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित बनाउन घरधनी र व्यवसायीको सहकार्य आवश्यक रहेको बताए ।

परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा घरधनी तथा व्यवसायीले रातिको समयमा आवतजावतमा हुने कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर, अव्यवस्थित पार्किङ र ढलका कारण सातघुम्ती क्षेत्रमा पानी जम्ने समस्याबारे ध्यानाकर्षण गराएका थिए ।

परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए । २०४८ सालमा स्थापना भएको परिषद्ले ठमेलको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएको महासचिव पशुपति कँडेलले जानकारी दिए ।