भारतीय विदेश सचिव मिश्रीले थाले भेटवार्ता, परराष्ट्रमन्त्री खनालसँग गरे शिष्टाचार भेट
भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार तथा गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालमा राजनीतिक भेटघाट सुरु गरेका छन् ।
बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
भेटमा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप विस्तार तथा गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, आपसी हितका विषय तथा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रलाई थप प्रभावकारी बनाउनेबारे पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको जनाइएको छ ।
प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका क्रममा भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन् । उनको भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।