नेपाल पुनर्बीमा कम्पनीमा थप लगानी गर्न सरकारको सहमति, साढे ३ अर्ब पुँजी थपिने

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम्पनीले पुँजी वृद्धि गर्नुपर्ने भएको हो ।

काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा थप हकप्रद सेयरमार्फत लगानी गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा सरकारको थप पुँजी लगानी गर्ने अर्थ मन्त्रालयको प्रस्तावलाई सहमति दिएको हो ।

हाल नेपाल पुनर्बीमा कम्पनीको चुक्तापुँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २० अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेपछि कम्पनीले पुँजी वृद्धि गर्नुपर्ने भएको हो ।

पुँजी वृद्धिका लागि कम्पनीले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीमा सरकारको ४४.०४ प्रतिशत स्वामित्व रहेकाले आफ्नो सेयर अनुपात कायम राख्दै पुँजी बढाउन सरकारले करिब साढे ३ अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिन्छ ।

यसअघि सरकारको थप लगानीबारे स्पष्ट निर्णय हुन नसक्दा कम्पनीको पुँजी वृद्धि प्रक्रिया अघि बढ्न सकेको थिएन । यही अन्योलका कारण धितोपत्रको दोस्रो बजारमा समेत कम्पनीको सेयर मूल्यमा अस्वाभाविक उतारचढाव र चलखेल भएको थियो । मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै कम्पनीको पुँजी वृद्धि प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।