सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूले यस प्रणालीमा पुनः दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।

काठमाडौं । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गर्दै सो प्रणाली पुनः सुरु भएको जानकारी दिएको हो ।

कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्पूर्ण बोलपत्र नयाँ प्रणालीबाट मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ । यसअघिको ई–जीपी प्रणालीमा उच्च सुरक्षा जोखिम भेटिएपछि गत भदौ ११ गतेदेखि नयाँ सूचना प्रकाशनको काम रोकिएको थियो । त्यसको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रियालाई पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताहरूले यस प्रणालीमा पुनः दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, बोलपत्र पेस गर्ने प्रक्रियामा अनलाइनसँगै भौतिक रूपमा उपस्थित भएर ‘हार्डकपी’ बुझाउन पाउने विकल्पसमेत खुला राखिएको छ । कार्यालयद्वारा जारी सूचना अनुसार बोलपत्रदाता वा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमै पुगेर हार्डकपीमध्ये कुनै एक माध्यमबाट प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था सार्वजनिक निकायहरूले मिलाउनुपर्नेछ ।