मुकेश अम्बानी बने फेरि एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति

भारतका अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि उनले चीनको बाइटडान्सका सहसंस्थापक चाङ यिमिङलाई पछि पारेका हुन् ।

एजेन्सी । भारतका अर्बपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएपछि उनले चीनको बाइटडान्सका सहसंस्थापक चाङ यिमिङलाई पछि पारेका हुन् ।

फोर्ब्सको रियल टाइम अर्बपति सूचीअनुसार सोमबार रिलायन्सको सेयर मूल्य झण्डै १२ प्रतिशतले बढ्दा अम्बानीको सम्पत्तिमा एकै दिन ८.५ अर्ब अमेरिकी डलर थपिएको छ । यससँगै उनको कुल सम्पत्ति १०.५ प्रतिशतले बढेर ८८.८ अर्ब डलर पुगेको छ ।

सम्पत्तिमा भएको वृद्धिसँगै अम्बानी विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा २३औँ स्थानमा उक्लिएका छन् । यसअघि एसियाकै धनी व्यक्तिको स्थानमा रहेका चीनका चाङ यिमिङको कुल सम्पत्ति भने ८४ अर्ब डलर रहेको छ । उनी विश्व धनाढ्यको सूचीमा २५औँ स्थानमा झरेका छन् ।

रिलायन्स इन्डस्ट्रिजले दोस्रो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो वित्तीय नतिजा सार्वजनिक गरेपछि कम्पनीको सेयरमा उछाल आएको हो । विश्लेषकहरूले कम्पनीको आम्दानी २.३ अर्ब डलर हुने अनुमान गरे पनि वास्तविक आम्दानी २.७ अर्ब डलर पुगेको थियो । यसले सोमबार मात्रै कम्पनीको बजार पुँजीकरणमा १९ अर्ब डलरभन्दा बढी थपिएको थियो ।

कम्पनीको वित्तीय प्रदर्शन राम्रो भएपछि ब्रोकरेज संस्था एभेन्डस स्पार्कले रिलायन्सको सेयरसम्बन्धी आफ्नो रेटिङसमेत बढाएको छ । ब्लुमबर्गका अनुसार सन् २०१७ यता पहिलोपटक कम्पनीको सेयरमा कुनै पनि विश्लेषकले ‘होल्ड’ वा ‘सेल’ सिफारिस गरेका छैनन् ।

सन् १९५७ मा धीरूभाई अम्बानीले स्थापना गरेको रिलायन्स इन्डस्ट्रिज पेट्रोकेमिकल्स, तेल तथा ग्यास, दूरसञ्चार, खुद्रा व्यापार, मिडिया र वित्तीय सेवासम्म फैलिएको छ । करिब १७० खर्ब भारु बजार पुँजीकरणसहित यो भारतकै सबैभन्दा मूल्यवान् कम्पनी हो ।

रिलायन्सको सेयर मूल्य बढ्नुमा कम्पनीको डिजिटल तथा दूरसञ्चार शाखा जियो प्लेटफर्म्सको सेयर बजार प्रवेशले पनि भूमिका खेलेको छ । अक्टोबरको अन्त्यतिर नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत भएको जियोको सेयर पहिलो कारोबार दिनमै २७ प्रतिशतले बढेको थियो ।

करिब १०६ अर्ब डलर मूल्यांकनमा ३.२ अर्ब डलर पुँजी जुटाएको जियोको आईपीओ भारतकै इतिहासमा सबैभन्दा ठूलो सार्वजनिक निष्कासन बनेको छ । ५३ करोड ३० लाखभन्दा बढी ग्राहक रहेको जियोमा रिलायन्सको करिब ६६ प्रतिशत स्वामित्व छ ।

यता, रिलायन्स समूहअन्तर्गतकै जियो फाइनान्सियल सर्भिसेजको खुद नाफामा भने गिरावट आएको छ । कम्पनीको सेप्टेम्बर त्रैमासिकको एकीकृत खुद नाफा अघिल्लो अवस्थाको तुलनामा ५१ प्रतिशतले घटेर ३४०.४४ करोड भारुमा सीमित भएको छ । खर्चमा भएको तीव्र वृद्धिका कारण नाफा घटे पनि कम्पनीको कुल आम्दानी भने झण्डै ७० प्रतिशतले बढेर १ हजार ६९९.४१ करोड भारु पुगेको छ ।