पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा अघि बढाएको छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

अख्तियारका अनुसार विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता गर्ने क्रममा अनियमितता भएको देखिएको छ । सोही प्रकरणमा नेपाललाई जिम्मेवार ठहर गर्दै भ्रष्टाचारसम्बन्धी अभियोगसहित मुद्दा विशेष अदालतमा पेस गरिएको हो । हाल उक्त मुद्दा विशेष अदालतमा रुजु हुने प्रक्रियामा रहेको छ ।

यसअघि पनि माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो । उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन अवस्थामा छ । यससँगै नेपालविरुद्ध विशेष अदालतमा दुईवटा भ्रष्टाचारसम्बन्धी मुद्दा पुगेका छन् ।