विकास बैंकको नाफा १ अर्ब ६७ करोड नाघ्यो, कुन बैंकले कति कमाए?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आठ राष्ट्रियस्तरका विकास बैंकले कुल १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

बैंकहरूले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११३.२३ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा यी बैंकहरूले कुल ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

असोज मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने विकास बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको थियो । यससँगै बैंकले घाटाबाट नाफामा फर्किँदै उल्लेख्य सुधार गरेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकले ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले बढी हो ।

गरिमा विकास बैंकको नाफा भने ४.१७ प्रतिशतले घटेर २४ करोड १ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । यता कामना सेवा विकास बैंकले १६.९९ प्रतिशतले नाफा बढाउँदै २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुर्‍याएको छ ।

ज्योति विकास बैंकको नाफामा सबैभन्दा उच्च वृद्धिदर देखिएको छ । बैंकले १८४.५८ प्रतिशतले नाफा बढाएर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २.६६ प्रतिशतले घटेर १९ करोड ७६ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । महालक्ष्मी विकास बैंकले २१.४८ प्रतिशतले नाफा बढाएर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुर्‍याएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको भने नाफा ६२.०६ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ ।