महालक्ष्मी विकास बैंकको नाफा २१ प्रतिशतले बढ्यो
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी र शुल्क तथा कमिसन आम्दानीमा वृद्धि भएको छ । त्यस्तै, कर्जा तथा अन्य नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घट्दा खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ।
यस अवधिमा बैंकको ब्याज आम्दानी ९.२५ प्रतिशतले घटेर १ अर्ब २ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । तर, खुद ब्याज आम्दानी भने १.७० प्रतिशतले बढेर ५१ करोड ५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको शुल्क तथा कमिसन आम्दानी ७२.३७ प्रतिशतले वृद्धि भई ५ करोड ९ लाख रुपैयाँ पुगेको छ । कर्जा तथा अन्य नोक्सानी व्यवस्था ३२.३७ प्रतिशतले घटेर १० करोड ६८ लाख रुपैयाँमा झरेको छ ।
यद्यपि, बैंकको सञ्चालन खर्च १५.४६ प्रतिशतले बढेर ३० करोड ११ लाख रुपैयाँ पुगेको छ । खर्च बढेसँगै सञ्चालन नाफा भने ५.१८ प्रतिशतले घटेर १७ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंकको कर्जाको गुणस्तरमा भने दबाब देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ५.५० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आवको सोही अवधिमा बढेर ६.४९ प्रतिशत पुगेको छ । त्यस्तै, पुँजीकोष अनुपात १७.६० प्रतिशतबाट घटेर १६.९२ प्रतिशत कायम भएको छ ।
असोज मसान्तसम्म बैंकले ५५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ५० पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा र मूल्य आम्दानी अनुपात ३५.५५ गुणा कायम भएको बैंकले जनाएको छ ।