सिद्धार्थ बैंकको नाफा १६२ प्रतिशतले बढ्यो, खराब कर्जा घटेर ३.७० प्रतिशतमा

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ थियो । यसअनुसार बैंकको नाफा १६२.७५ प्रतिशतले बढेको हो ।

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा उल्लेख्य बढाएको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ८५ करोड १५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ थियो । यसअनुसार बैंकको नाफा १६२.७५ प्रतिशतले बढेको हो ।

बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकममा आएको कमी र खुद ब्याज आम्दानीमा भएको वृद्धिले मुख्य भूमिका खेलेको देखिन्छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५१.४७ प्रतिशतले घटेर ६७ करोड ३९ लाख २५ हजार रुपैयाँमा झरेको छ। गत वर्षको पहिलो त्रैमासमा यस्तो रकम १ अर्ब ३८ करोड ८७ लाख ६६ हजार रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी १०.५० प्रतिशतले बढेर २ अर्ब ३८ करोड ९६ लाख ९३ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकले ५ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गर्दा २ अर्ब ९७ करोड ५२ लाख रुपैयाँ ब्याज खर्च गरेको छ ।

त्यस्तै, खुद फि तथा कमिसन आम्दानी १०.९४ प्रतिशतले वृद्धि भई ५७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ३ अर्ब २५ करोड ५ लाख २७ हजार रुपैयाँ कायम भएको छ । समीक्षा अवधिमा करअघिको नाफा १ अर्ब २३ करोड ८८ लाख २१ हजार रुपैयाँ रहेको छ भने करबापत ३८ करोड ७२ लाख ५५ हजार रुपैयाँ व्यवस्था गरिएको छ ।

व्यवसाय विस्तारतर्फ बैंकको निक्षेप र कर्जा दुवै बढेका छन् । गत असार मसान्तको तुलनामा असोजसम्म ग्राहक निक्षेप २.५७ प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब ८० करोड १२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा प्रवाह ४.२५ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब ४ करोड ७ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ७७ करोड ३९ लाख २७ हजार रुपैयाँ पुगेको छ । यसमध्ये साधारण सेयरको हिस्सा १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ र अविमोच्य असञ्चिति अग्राधिकार सेयरको हिस्सा ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा १५ अर्ब ८१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ भने कुल इक्विटी ३५ अर्ब ९८ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा चालू आवको पहिलो त्रैमासमा २७ करोड ७९ लाख ८४ हजार रुपैयाँ रहेको छ । गत वर्षको सञ्चित नाफाबाट नगद लाभांश वितरण गरेपछिको रकमसमेत जोड्दा असोज मसान्तसम्म सञ्चित वितरणयोग्य मुनाफा ३९ करोड ६ लाख ३९ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र परिपक्व भएपछि त्यससँग सम्बन्धित २ अर्ब ५० करोड रुपैयाँको क्यापिटल रिडेम्पसन रिजर्भलाई क्यापिटल एडजस्टमेन्ट रिजर्भमा सारेको छ । सञ्चालक समितिको निर्णयअनुसार उक्त रिजर्भमा रहेको रकम बोनस सेयर जारी गर्न मात्र उपयोग गरिनेछ । बैंकका अनुसार यस प्रयोजनका लागि कुल ३ अर्ब ५७ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको कोष छुट्याइएको छ ।

साधारण सेयरका आधारमा गणना गरिएको बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८२ पैसाबाट बढेर १८ रुपैयाँ ७६ पैसा पुगेको छ । क्यापिटल एडजस्टमेन्ट रिजर्भसमेत समावेश गर्दा वितरणयोग्य प्रतिसेयर आम्दानी २५.६३ प्रतिशत पुगेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

कर्जा गुणस्तरमा पनि सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर ३.७० प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा १.३३ प्रतिशतबाट घटेर १.०८ प्रतिशत कायम भएको छ । निष्क्रिय कर्जाका लागि गरिएको नोक्सानी व्यवस्थाको कभरेज अनुपात भने १०४.०९ प्रतिशत पुगेको छ ।

बैंकको कोषको लागत ४.१२ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा झरेको छ भने आधार दर ५.९० प्रतिशतबाट घटेर ४.८७ प्रतिशत कायम भएको छ । कर्जा–निक्षेप अनुपात ७५.२९ प्रतिशत र ब्याजदर अन्तर ३.६८ प्रतिशत रहेको छ । त्यस्तै, पुँजी कोष अनुपात १२.२९ प्रतिशत, टियर–१ पुँजी अनुपात १०.१६ प्रतिशत र कमन इक्विटी टियर–१ अनुपात ९.०३ प्रतिशत रहेको छ ।

नाफामा भएको वृद्धिसँगै बैंकको इक्विटीमा प्रतिफल ४.१२ प्रतिशतबाट बढेर ९.२८ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.३८ प्रतिशतबाट बढेर ०.७९ प्रतिशत पुगेको छ । बैंकको तरलता अनुपात ३१.९३ प्रतिशत कायम भएको छ ।

बैंकको आम्दानीमा बैंकिङ तथा ट्रेजरी कारोबारको योगदान मुख्य रहेको छ । बैंकिङ कारोबारबाट ५ अर्ब २ करोड २६ लाख रुपैयाँ आम्दानी र ६१ करोड ८० लाख रुपैयाँ करअघिको नाफा भएको छ । ट्रेजरी कारोबारबाट १ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ आम्दानी र ५८ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन भएको छ ।

यसैबीच, बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ । अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले लाभांश भुक्तानी गरिएको बैंकले जनाएको छ ।