पत्रकारमाथिको धरपकडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकडको घटनाबारे निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको धरपकडको घटनाबारे निष्पक्ष छानबिन गरी संलग्न दोषीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले समाचार कक्षमै प्रवेश गरेर पत्रकारमाथि सोधपुछ तथा पक्राउ गरिएको घटनालाई गम्भीर रूपमा लिँदै दोषी पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।बैठकका निर्णय सार्वजनिक गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र मानवअधिकारको पक्षमा पार्टी स्पष्ट रहेको बताए । उनले प्रेस स्वतन्त्रताको सवालमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने धारणा राखे ।
पत्रकारमाथि सोधपुछ गर्ने नाममा समाचार कक्षमै पुगेर गरिएको गतिविधि गलत भएको पार्टीको निष्कर्ष रहेको उनले बताए । घटनामा कसको संलग्नता थियो र कसको निर्देशनमा यस्तो कार्य भयो भन्ने विषयमा समेत छानबिन हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयले घटनामा आफ्नो संलग्नता नरहेको बताएको सन्दर्भमा पनि सचिवालय बैठकमा छलफल भएको प्रवक्ता खरेलले जानकारी दिए । उनले घटनाको सत्यतथ्य पत्ता लगाई संलग्न व्यक्तिमाथि शीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिइएको बताए । कारबाही प्रक्रियामा ढिलासुस्ती नगरी परिणाम देखाउनसमेत पार्टीले सरकारलाई आग्रह गरेको उनको भनाइ छ ।
रास्वपाले अंगीकार गरेको सामाजिक लोकतन्त्रमा प्रेस स्वतन्त्रता अक्षुण्ण रहने प्रवक्ता खरेलले स्पष्ट पारे ।