अस्पताल उद्घाटन विवादले बाराको फेटामा झडप, गोली चल्दा किशोर गम्भीर घाइते

घटनाका क्रममा गोली चलेको छ भने प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको स्थानीयले बताएका छन् ।

जनकपुरधाम । बाराको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटन गर्ने विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एक किशोर गम्भीर घाइते भएका छन् । घटनाका क्रममा गोली चलेको छ भने प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको स्थानीयले बताएका छन् ।

झडपमा स्थानीय १६/१७ वर्षीय आदित्य पासवान घाइते भएका हुन् । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार उनको वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।

अस्पतालमा आवश्यक सेवा, सुविधा, जनशक्ति र स्रोतसाधनको व्यवस्था नै नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध जनाएका थिए । यही विषयमा विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप भएको हो ।

स्थानीयका अनुसार उनीहरुले शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका बेला गाउँपालिका र सांसदको दबाबमा प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेपछि अवस्था थप तनावग्रस्त बनेको उनीहरुको दाबी छ ।

उक्त अस्पताल उद्घाटन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम थियो । दिउँसो १ बजेका लागि उद्घाटनको समय तय गरिए पनि विवाद चर्किएपछि उनी कलैयामै रोकिएकी छन् ।

प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार निर्धारित समयभन्दा अगावै विवाद बढेर झडपको अवस्था सिर्जना भएपछि गोली चलेको हो ।

घटनापछि फेटाको अवस्था तनावपूर्ण बनेको छ । झडपका क्रममा करिब एक दर्जन सवारीसाधनमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए । स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भइरहेको उनले बताए ।