प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासंघको प्रदर्शन, सञ्चारकर्मीमाथिको धरपकड बन्द गर्न माग

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीमा त्रास फैलाउने गतिविधिले सरकार निरंकुशतातर्फ अघि बढेको उनीहरुको आरोप छ । यस्ता गतिविधि जारी रहे सरकारको पतन निश्चित हुने चेतावनी दिँदै पत्रकारहरुले आफूहरुको प्रदर्शन सांकेतिक मात्रै भएको बताएका छन् ।

काठमाडौं । संसद्, इजलास र समाचार कक्षको स्वतन्त्रताको सम्मान गर्न माग गर्दै सञ्चारकर्मीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

शनिबार नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा पत्रकारहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘वी वान्ट डेमोक्रेसी एन्ड प्रेस फ्रिडम’, ‘लोकतन्त्र पुनःबहाली गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता जिन्दावाद’, ‘प्रेसमाथिको दमन बन्द गर’ र ‘पत्रकारमाथिको धरपकड बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

विरोध कार्यक्रममा बोल्दै शुक्रबार पक्राउ परी रिहा भएका पत्रकार नवराज मैनालीले सम्पादकीय कक्षमै पुगेर पत्रकार पक्राउ गर्नु दुःखद् भएको बताए । उनले बिना औपचारिक पोशाक र पक्राउ पुर्जी आफूलाई नियन्त्रणमा लिइएको आरोप लगाए । सञ्चारमाध्यममाथि राज्यले आक्रमण सुरु गरेको भन्दै उनले यसलाई प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताए ।

अर्का पत्रकार रामप्रसाद दाहालले सञ्चार कक्षमै पुगेर पत्रकार पक्राउ गर्नु राज्यबाटै सिर्जित अपराध भएको दाबी गरे । उनले सरकारलाई आफ्नो निर्णय सच्याउँदै प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह गरे । सरकार कानुनी परिधिभित्र नफर्किए थप कलंकित हुने चेतावनी दिँदै उनले यस्ता गतिविधिले सरकारको पतन निश्चित हुने बताए ।

त्यस्तै, पत्रकार शोभराज बरालले अनौपचारिक पोशाकमा सञ्चार कक्षमा पुगेका प्रहरीले कालो चिया पिउन भन्दै केरकार गरेको बताए । उनले साइबर ब्युरो पुर्‍याएपछि माथिल्लो निकाय र प्रधानमन्त्री कार्यालयको निर्देशनमा पक्राउ गरिएको जानकारी दिइएको बताए । प्रहरीले आफूले प्राप्त गरेको आदेश मात्रै पालना गरेको उनको भनाइ थियो । शुक्रबार पक्राउ गरिएका पत्रकारहरुलाई राति साढे ८ बजे रिहा गरिएको प्रदर्शनमा सहभागीहरुले जानकारी दिएका छन् ।

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारकर्मीमा त्रास फैलाउने गतिविधिले सरकार निरंकुशतातर्फ अघि बढेको उनीहरुको आरोप छ । यस्ता गतिविधि जारी रहे सरकारको पतन निश्चित हुने चेतावनी दिँदै पत्रकारहरुले आफूहरुको प्रदर्शन सांकेतिक मात्रै भएको बताएका छन् ।