पत्रकार विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको कार्यालयस्थित न्यूज रुमबाट पक्राउ गरिएका पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले रिहा गरेको छ । केहीबेर नियन्त्रणमा राखेपछि साइबर ब्यूरोले उनलाई छाडेको हो ।

प्रहरीले सुवेदीलाई पक्राउ गरी नेपाल प्रेसमा प्रकाशित समाचारको स्रोत खुलाउन दबाब दिएको थियो । यसैक्रममा सञ्चारमाध्यमका प्रधानसम्पादक मातृका पौडेल र अध्यक्ष विन्दुराज लम्साललाई समेत साइबर ब्यूरोमा बोलाएर सोधपुछ गरिएको थियो ।

प्रधानसम्पादक पौडेलले प्रकाशित समाचारको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताएपछि प्रहरीले सुवेदीलाई रिहा गर्न सहमति जनाएको हो । पौडेलले भने समाचारको स्रोत खुलाउन अस्वीकार गरेका छन् ।