काठमाडौंका विभिन्न क्षेत्रमा साढे पाँच घण्टा विद्युत् अवरुद्ध हुने
प्राधिकरणका अनुसार कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । तार भूमिगत गर्ने कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको हो ।
काठमाडौं । विद्युत् तार भूमिगत गर्ने कार्यका कारण आज काठमाडौंका विभिन्न क्षेत्रमा साढे पाँच घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गत बाफल फिडरबाट वितरण हुने विद्युत् सेवा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहने जनाएको छ ।
प्राधिकरणका अनुसार कलङ्की रिङरोडदेखि स्युचाटार सबस्टेसनसम्मका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ । तार भूमिगत गर्ने कार्यलाई व्यवस्थित रूपमा अघि बढाउन विद्युत् सेवा अस्थायी रूपमा बन्द गर्न लागिएको हो ।
निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार छिट्टै सञ्चालनमा आउने प्राधिकरणले स्पष्ट पारेको छ । यस्तै, मौसम प्रतिकूल भएमा कामको तालिका परिवर्तन हुन सक्ने पनि जनाएको छ ।
विद्युत् आपूर्ति बन्द हुँदा सर्वसाधारण तथा सम्बन्धित क्षेत्रका उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ ।