भुटानमा हिमताल फुट्यो : भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट'
प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
काठमाडौं । भुटानको गासा जिल्लास्थित शिन्ताफु हिमताल फुटेको आशंका गरिएको छ । बिहीबार साँझ पुनात्साङछु नदीमा एक्कासी बाढी आएपछि हिमताल फुटेको आशंका गरिएको हो ।
ठूलो बाढी आएपछि भुटानसँग सीमा जोडिएका भारतका पश्चिम बंगाल र असमका क्षेत्रमा सतर्कता अपनाइएको छ ।
वाकिला पर्वतको फेदीमा रहेको हिमताल फुट्दा करिब ७४ लाख घनमिटर पानी बाहिरिएको प्रारम्भिक विवरण सार्वजनिक भएका छन् । प्रारम्भिक विवरणअनुसार हिमतालबाट बाहिरिएको पानीको वास्तविक प्रभाव र क्षतिको पूर्ण विवरण आइसकेको छैन । भुटान र भारतका अधिकारीहरूले नदीको जलस्तर तथा पानीको बहाव निगरानी गरिरहेका छन्। घटनामा मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन ।
बाढीको बहावले भुटानको लाया क्षेत्र जोड्ने सडकको केही भाग बगाएपछि यातायातसमेत अवरुद्ध भएको बताइएको छ ।
भुटानबाट बग्ने पुनात्साङछु नदी भारत प्रवेश गरेपछि संकोश नदीका रूपमा बग्छ । नदीमा पानीको सतह अचानक बढ्न सक्ने भन्दै भारतको अलिपुरद्वार र असमको धुब्री जिल्लामा सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
पश्चिम बंगालमा संकोश नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने नदी किनारका बस्तीमा साइरन बजाएर स्थानीयलाई सचेत गराइएको बताइएको छ ।