काठमाण्डु गोर्खाजमाथि जनकपुरको शानदार जित
मोइनलाई साथ दिएका सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई सहज जित दिलाए ।
काठमाडौं । मोइन अलीको उत्कृष्ट अर्धशतक र राहुल यादवको घातक बलिङको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ। जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा जितको खाता खोलेको हो ।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा ओपनर मोइन अलीले ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे। उनले आफ्नो इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरे ।
मोइनलाई साथ दिएका सैफ हसनले ३९ बलमा अविजित ४० रन बनाए । यी दुईले तेस्रो विकेटका लागि ७९ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई सहज जित दिलाए ।
जनकपुरले ७ रन जोड्दा पहिलो विकेटका रूपमा तृतराज दासलाई गुमाएको थियो । तृत ५ रनमा आउट भए । त्यसपछि ३७ रनको अवस्थामा मयन यादव ९ रन बनाएर पभेलियन फर्किए । तर, मोइन र सैफले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए। काठमाण्डुका रिपोन मोन्डलले एक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाज १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो ।
काठमाण्डुलाई कम योगफलमा समेट्ने क्रममा जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा ३१ रन खर्चिएर ४ महत्वपूर्ण विकेट लिए। राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसँगै कप्तान करण केसी तथा मोहम्मद आदिल आलमलाई आउट गरे ।
सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हर्मीत सिंह र ललित राजवंशीले समान एक विकेट हात पारे ।
काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। कप्तान करण केसी ८, हरिशंकर शाह ९, जहानदाद खान ५ र रिपोन मोन्डल ९ रनमा आउट भए। साम हिजलेटले १ रन बनाए भने मोहम्मद आदिल आलम पहिलो बलमै आउट भए। शाहव आलम ४ रनमा अविजित रहे ।
काठमाण्डुले खेलभर कुनै पनि ठूलो साझेदारी गर्न नसक्दा लगातार विकेट गुमाएको थियो । जनकपुरको कसिलो बलिङसामु काठमाण्डुको ब्याटिङ धराशायी बन्यो ।
यसअघि पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। पहिलो जितसँगै जनकपुरले प्रतियोगितामा पुनरागमन गरेको छ ।
एनपीएलअन्तर्गत आजको दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।