पूर्वमिस स्विट्जरल्यान्डले लगाईन् ट्रम्पमाथि बलात्कारको आरोप
ह्वाइट हाउसका एक प्रवक्ताले उक्त आरोपलाई राष्ट्रपति ट्रम्पका उपलब्धिबाट प्राप्त भइरहेको रिपब्लिकन पार्टीको राजनीतिक समर्थनबाट अमेरिकी जनताको ध्यान अन्यत्र मोड्ने डेमोक्रेटिक पार्टीको प्रयासका रूपमा टिप्पणी गरेका छन् ।
काठमाडौं । पूर्व मिस स्विट्जरल्यान्ड तथा मोडल बियाट्रिस केउलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् १९९३ मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । द टेलिग्राफले सोमबार प्रकाशित गरेको समाचारअनुसार, केउलले यसअघि ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लगाउँदै आएकोमा पछिल्लो पटक बलात्कारको दाबीसमेत गरेकी हुन् ।
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका डेमोक्रेटिक सांसदहरूले गरेको अनुसन्धानसम्बन्धी प्रतिवेदनमा केउलको आरोप समेटिएको समाचारमा उल्लेख छ । यद्यपि, ह्वाइट हाउसले प्रतिवेदनमा उल्लेख गरिएका आरोप अस्वीकार गरेको छ ।
ह्वाइट हाउसका एक प्रवक्ताले उक्त आरोपलाई राष्ट्रपति ट्रम्पका उपलब्धिबाट प्राप्त भइरहेको रिपब्लिकन पार्टीको राजनीतिक समर्थनबाट अमेरिकी जनताको ध्यान अन्यत्र मोड्ने डेमोक्रेटिक पार्टीको प्रयासका रूपमा टिप्पणी गरेका छन् ।
प्लाजा होटलमा भएको थियो भेट
केउलका अनुसार सन् १९९३ मा आफू २४ वर्षकी हुँदा न्यूयोर्कस्थित प्लाजा होटलमा आयोजित सौन्दर्य प्रतियोगितासम्बन्धी पत्रकार सम्मेलनका क्रममा ट्रम्पसँग भेट भएको थियो । त्यसबेला उक्त होटल ट्रम्पकै स्वामित्वमा थियो ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, ट्रम्पले उनलाई भिसा मिलाइदिने र न्यूयोर्क विश्वविद्यालयमा भर्ना हुन सहयोग गर्ने आश्वासन दिएका थिए । केउलले ट्रम्पले आफूलाई ‘म तिम्रो हेरचाह गर्नेछु’ भनेको दाबी गरेकी छन् ।
उनका अनुसार, ट्रम्पसँगको कुराकानीपछि जेफ्री एपस्टिन नामका व्यक्ति उनीकहाँ पुगेका थिए । एपस्टिनले आफूलाई ‘डनको सबैभन्दा मिल्ने साथी’ भन्दै मार–ए–लागोमा हुने पार्टीमा सहभागी हुन निम्तो दिएको केउलको भनाइ छ । प्रतिवेदनमा एपस्टिनले ट्रम्पसँग मिलेर धेरै पार्टी आयोजना गर्ने गरेको बताएका उल्लेख छ ।
ट्रम्पका प्रतिनिधिले होटलमा बोलाएको दाबी
डेमोक्रेटिक सांसदहरूको प्रतिवेदनअनुसार, केही समयपछि ट्रम्पका एक प्रतिनिधिले केउललाई प्लाजा होटलको माथिल्लो तलामा ट्रम्पलाई भेट्न बोलाएका थिए ।
केउलले कोठामा प्रवेश गरेपछि ट्रम्पले पछाडिबाट समातेर जबर्जस्ती बलात्कार गरेको आरोप लगाएकी छन् । प्रतिवेदनमा उनको लुगा च्यातिएको र शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै रक्तस्राव भएको दाबी पनि समेटिएको छ ।
घटनापछि ट्रम्पले आफूलाई ओछ्यानको छेउमा बसाएर भिसा र विश्वविद्यालयमा भर्नाका लागि सहयोग गर्ने आश्वासन दिएको केउलको आरोप छ । साथै, घटनाबारे कसैलाई नबताउन वाचा गराएको र ‘कार्यक्रम अघि बढ्नैपर्छ’ भनेको पनि प्रतिवेदनमा उल्लेख छ । यी विवरण केउलले लगाएका आरोप तथा प्रतिवेदनमा समेटिएका दाबी हुन् । ह्वाइट हाउसले भने आरोप अस्वीकार गरेको छ ।
सन् २०२४ मा पनि यौन दुर्व्यवहारको आरोप
केउलले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि पनि सन् १९९३ मा प्लाजा होटलमा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
त्यतिबेला उनले ट्रम्पले आफ्नो ओठ र घाँटीमा चुम्बन गरेको, लुगा उचाल्न खोजेको र शरीरका विभिन्न भागमा जबर्जस्ती समातेको दाबी गरेकी थिइन् ।
द टेलिग्राफका अनुसार, केउलका लामो समयदेखिका एक साथीले पनि उनले करिब २० वर्षअघि नै ट्रम्पको अनिच्छित यौन व्यवहारबारे आफूलाई सुनाएको बताएका छन् । ती साथीका अनुसार, केउलले घटनाबारे सुनाउँदै आएको विवरण त्यसयता परिवर्तन भएको छैन ।