विराटनगर किंग्सविरुद्ध चितवन राइनोजको रोमाञ्चक जित
१ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट भयो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ ।
कुनै बेला हार नजिक पुगिसकेको चितवनले अन्तिममा ८ रनको नाटकीय जित निकालेको हो । १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट भयो ।
विराटनगरका लागि इमरान शेखले ३९, आन्द्रे रसेलले ३३ लोकेश बमले २६, एन्जेलो म्याथ्युजले १४ तथा बसिर अहमदले १३ रनको योगदान गरे ।
बलिङतर्फ चितवन कमलसिंह ऐरीले चार तथा रिजन ढकालले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । उसका लागि ओपनर डेभिड मलानले अर्धशतकीय पारी खेले । उनले ५० बलमा ५ चौका र ५ छक्कासहित ७० रनको पारी खेलेका हुन् ।
यस्तै, अविजित रहेका कप्तान रवि बोपाराले ३२ र ड्यान मोस्लीले २९ जोडे । देव खनाल १२ रनमा आउट भए । विराटनगरका लागि बलिङतर्फ एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालङ्काले १/१ विकेट लिए ।