असोजमा मात्रै ७३ हजारभन्दा बढी नेपालीले लिए श्रम स्वीकृति, युएई पहिलो रोजाइमा

युरोपेली मुलुकतर्फ पनि नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको छ । रोमानिया नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ । त्यस्तै, बुल्गेरिया, माल्टा, क्रोएसिया र पोल्यान्डमा पनि नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन् ।

काठमाडौँ । रोजगारीको खोजीमा विदेशिने नेपालीको संख्या उच्च देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार असोज महिनामा मात्रै ७३ हजार ७ सय ६५ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । यसले मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना हुन नसकेको र वैदेशिक रोजगारीप्रतिको निर्भरता कायमै रहेको देखाउँछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सेप्टेम्बर १७ देखि अक्टोबर १७ सम्मको अवधिमा उक्त संख्यामा नेपालीले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमा ६३ हजार ३ सय ७७ पुरुष र १० हजार ३ सय ८८ महिला छन् । कुल श्रम स्वीकृति लिनेमा पुरुषको हिस्सा ८५.९१ प्रतिशत र महिलाको हिस्सा १४.०८ प्रतिशत रहेको छ ।

प्रतिवेदनअनुसार यस अवधिमा पहिलोपटक वैदेशिक रोजगारीमा जान ४३ हजार ५ सय ५९ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । तीमध्ये ३६ हजार ५ सय ५७ पुरुष र ७ हजार २ महिला छन् । त्यस्तै, ३० हजार २ सय ६ जनाले पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । पुनः श्रम स्वीकृति लिनेमा २६ हजार ८ सय २० पुरुष र ३ हजार ३ सय ८६ महिला छन् ।

नेपाली श्रमिकका प्रमुख गन्तव्यमा खाडी मुलुक र मलेसियाको वर्चस्व कायमै छ। असोज महिनामा नेपाली श्रमिकले विश्वका १०६ भन्दा बढी देशमा रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । तीमध्ये संयुक्त अरब इमिरेट्स (युएई) सबैभन्दा प्रमुख गन्तव्य बनेको छ ।

युएईका लागि मात्रै २३ हजार ८ सय ९९ जनाले श्रम स्वीकृति लिएका छन्। तीमध्ये २० हजार २ सय ५९ पुरुष र ३ हजार ६ सय ४० महिला छन्। यो कुल श्रम स्वीकृति लिनेको करिब ३२.३९ प्रतिशत हो ।

युरोपेली मुलुकतर्फ पनि नेपाली श्रमिकको आकर्षण बढ्दो देखिएको छ । रोमानिया नेपाली श्रमिकको प्रमुख गन्तव्य बनेको छ । त्यस्तै, बुल्गेरिया, माल्टा, क्रोएसिया र पोल्यान्डमा पनि नेपाली श्रमिक रोजगारीका लागि जाने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या देशभर फैलिएको छ। विभागको तथ्याङ्कअनुसार नेपालका ७७ वटै जिल्लाबाट नागरिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । जिल्लागत रूपमा झापाबाट सबैभन्दा धेरै ३ हजार ४ सय ९० जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीमा श्रमिक पठाउने म्यानपावर कम्पनीमध्ये प्याराडाइज इन्टरनेसनल अग्रस्थानमा रहेको छ। उक्त कम्पनीमार्फत ५ सय ७८ जना विदेश गएका छन्। त्यस्तै, अल स्किल्स इन्टरनेसनलबाट ५ सय २५, मोभिरा रिक्रुटमेन्टबाट ३ सय ४०, एडभान्स्ड म्यानेजमेन्टबाट ३ सय ५, निलकमल ह्युमन रिसोर्सबाट २ सय ९९ र शिवाकोटी म्यानपावरबाट २ सय ७८ जना श्रमिक विदेश गएका छन् ।

वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले नेपालको विदेशी मुद्रा सञ्चिति, उपभोग र समग्र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर, प्रत्येक महिना हजारौँ नेपाली रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाले देशभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने चुनौती पनि उजागर गरेको छ ।

विशेषगरी युवा जनशक्ति ठूलो संख्यामा विदेशिँदा स्वदेशी उत्पादन, उद्योग तथा सेवा क्षेत्रमा आवश्यक श्रमशक्ति व्यवस्थापनमा चुनौती उत्पन्न हुन सक्छ । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुका साथै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ ।