दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट

काठमाडौं । नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भेटवार्ता भएको हो । 

अर्थमन्त्री वाग्ले मोदीले सम्बोधन गरेको एनडीटीभी वर्ल्ड समिटको सत्रमा अतिथिका रूपमा सहभागी भएका थिए । बिहीबार राति आयोजित उक्त सत्रपछि प्रधानमन्त्री मोदी र अर्थमन्त्री वाग्लेबिच संक्षिप्त भेटवार्ता तथा कुराकानीसमेत भएको हो। तर कुराकानीको विषय अर्थ मन्त्रालयले उल्लेख गरेको छैन ।

यसपछि अर्थमन्त्री वाग्लेले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ लाई सम्बोधन गरेका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गरेका हुन् । 

त्यसैगरी भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सम्बोधन गरेको समिटको विशेष सत्रमा पनि अर्थमन्त्री वाग्ले सहभागी भएका थिए । यस क्रममा दुई नेताबिच बदलिँदो विश्व व्यवस्था र अन्तर्राष्ट्रिय परिस्थितिका विषयमा रोचक प्रश्नोत्तर भएको थियो ।