दसैँ बिदामा पनि आयल निगमका डिपो खुला रहने, यस्तो छ खुल्ने तालिका

बिदाको समयमा इन्धन आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिएमा तत्काल समाधान गर्न निगमले केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले विजयादशमीको सार्वजनिक बिदाका दिनहरूमा समेत देशभर पेट्रोलियम पदार्थको सहज बिक्रीवितरणको प्रबन्ध मिलाएको छ ।

चाडपर्वको अवसरमा उपभोक्ताहरूलाई इन्धनको अभाव हुन नदिन निगमले स्थानीय आवश्यकताका आधारमा आफ्ना प्रादेशिक कार्यालय, शाखा तथा इन्धन डिपोहरू तालिका निर्धारण गरी खुला राख्ने भएको हो ।

निगमद्वारा सार्वजनिक गरिएको तालिकाअनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर कात्तिक २, ६ र ८ गते खुला रहनेछ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा तथा वीरगञ्ज शाखा कार्यालय कात्तिक १, २, ६ र ८ गते सञ्चालन हुनेछन्। यस्तै, वाग्मती प्रादेशिक कार्यालय थानकोट कात्तिक १, २, ६ र ७ गते तथा गण्डकी प्रादेशिक कार्यालय पोखरा कात्तिक १, २ र ६ गते खुला रहने व्यवस्था मिलाइएको छ ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेत असोज ३० तथा कात्तिक २ र ७ गते सञ्चालन हुनेछ। सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी, नेपालगञ्ज इन्धन डिपो तथा दाङ इन्धन डिपो कात्तिक २ र ६ गते खुला रहनेछन्। यसैगरी, जनकपुर इन्धन डिपो असोज ३१ तथा कात्तिक २ र ६ गते, झापाको चारआली शाखा कार्यालय असोज ३१ तथा कात्तिक १, ६ र ८ गते एवं दिपायल शाखा कार्यालय कात्तिक १ र ६ गते खुला रहनेछन्।

बिदाको समयमा इन्धन आपूर्ति तथा उपलब्धतामा कुनै समस्या देखिएमा तत्काल समाधान गर्न निगमले केन्द्रीय कार्यालयका अधिकारीहरूलाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ । जसअनुसार पेट्रोल र डिजेलको समस्याका लागि नवराज पोखरेल (९८४१४८०२०७) र एल.पी. ग्यास तथा हवाई इन्धनको समस्याका लागि सञ्जीव सङ्ग्रौला (९८४१४३३६०४) लाई सम्पर्क गर्न सकिनेछ ।