रेमिट्यान्स आयमा वृद्धि, दुई महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब
मासिक तथ्याङ्कअनुसार भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स वृद्धिदर केही सुस्त देखिए पनि मुलुक भित्रिने रकम भने उल्लेख्य रहेको छ ।
मासिक तथ्याङ्कअनुसार भदौमा मात्रै २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । यसरी एक वर्षको अवधिमा भदौ महिनामा भित्रिने रेमिट्यान्स रकममा उल्लेख्य वृद्धि भएको छ ।
अमेरिकी डलरमा हिसाब गर्दा पनि रेमिट्यान्स आप्रवाह बढेको छ । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यसमा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट नयाँ श्रम स्वीकृति लिनेहरू समावेश छन् । सोही अवधिमा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
गत आर्थिक वर्षको साउन र भदौमा ९० हजार १९८ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए भने ४५ हजार ८८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।